काठमाण्डु, ३ मंसिर– सहकारी ठगी प्रकरणमा मुछिएका कुमार रम्तेललाई काठमाण्डु ल्याइएको छ । जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाण्डुले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाण्डु ल्याएको हो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाण्डु ल्याइएको हो । उनको बयान अन्तिम चरणमा पुगेकाले आजरभोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।
रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाण्डु ल्याउने तयारी प्रहरीले गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाण्डु झिकाएर बयान गराइने परिसर स्रोतले जानकारी दियो । आइतबार काठमाण्डु जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेका थिए ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो ।
लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् ।