एमाले सांसद तामाङले सहकारी ठगेर ४४ रोपनी जग्गा किनेको खुलासा

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– एमाले बागमती प्रदेश सांसद् ज्ञानबहादुर तामाङ काठमाण्डुको सामाखुसीस्थित नेसनल नमोबुद्ध सहकारी ठगीमा मुछिएका छन् ।

सर्वसाधारण बचतकर्ताले तत्कालीन अध्यक्ष तामाङसहित सहकारीका पदाधिकारीविरुद्ध प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका छन् ।

तर, राज्य शक्तिको आडमा तामाङमाथि कुनै छानबिन भएको छैन । उक्त सहकारीमा तामाङसहितले करिब २ अर्ब अपचलन गरेको भेटिएको छ । तामाङले सहकारीको रकम गैरकानूनी रुपमा अपचलन गरी नुवाकोटको थानसिङमा ४४ रोपनी जग्गा किनेको पाइएको छ ।

उनी ०७२ देखि ०७९ सम्म सहकारीको अध्यक्ष थिए । तामाङपछि राजकुमार लामा सहकारीको अध्यक्ष भए । बचतकर्ताले पटकपटक रकम फिर्ता मागे पनि लामाले फिर्ता गरेका छैनन् ।

बचतकर्तालाई महँगो ब्याज दिने प्रलोभनमा रकम जम्मा गर्न लगाएर उनीहरुले सोही रकमले जग्गा गरिद गरेका खुसाला भएको छ । एमाले सांसद तामाङले सहकारीको रकमबाट किनेको जग्गा सहकारी बैंकमा धितो राखेर १४ करोड ऋण लिएका थिए । ऋण नतिरेपछि बैंकले सार्वजनिक सूचना जारी गर्र्दै उनको धितो लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ ।

सहकारी बैंकका सूचना अधिकारी राजेश श्रेष्ठले नेसनल नमोबुद्ध सहकारीको नाममा लिइएको ऋण चुक्ता नभएकाले सूचना जारी गरिएको बताए ।

सहकारी रजिष्ट्रार कार्यालयले पनि बचतकर्ताको रकम फिर्ता दिन पटकपटक ताकेता गरेको छ । तर, रकम फिर्ता दिइएको छैन ।

उजुरीकर्तासँग राखेर छलफल गर्दा सहकारीकी पदाधिकारीले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि बचत फिर्ता नगरिएको सहकारी रजिस्ट्रार कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us