तेस्रो दल माओवादीविरुद्ध कांग्रेस-एमालेले गरे चुनावी तालमेल

काठमाण्डु टुडे २०८१ मंसिर २ गते २१:४५ मा प्रकाशित

रुकुम पूर्व, २ मंसिर-  रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्षका लागि १६ मंसिरमा हुने उपचुनावमा सरकारमा रहेका दुई प्रमुख घटका नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् ।

कांग्रेस-एमालेले माओवादी केन्द्रविरुद्ध चुनावी तालमेल गरेका हुन् ।

एमाले कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेस चुनाव चिन्हबाट आइतबार उम्मेदवारी दर्ता गराएकी छन् ।

मनोनयन दर्ता गर्नुअघि दुई दलबीच भएको लिखित सहमतिमा तुलाचनलाई साझा उम्मेदवारका रुपमा अघि सार्ने उल्लेख छ ।

उक्त पालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार भूपेन्द्रा बुढा मगरले दोब्बर मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी  थिइन् ।

भूपेन्द्राले ४ हजार ५९ मत ल्याएर निर्वाचित हुंदा कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । त्यहां कूल ११ हजार १ सय ८० मतदाता छन् ।

बुढाको गत असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा मृत्यु गएपछि उपनिर्वाचन हुन लागेको हो ।

माओवादी केन्द्रले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको छ ।

पुथा उत्तरगंगाको वडा नम्बर-२ को वडाअध्यक्षमा पनि कांग्रेसले उम्मेदवारी दिएको छैन । त्यहां एमाले जिल्ला कमिटी सदस्य जीवन रोकाले उम्मेदवारी दर्ता गरेका छन् । माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।

कांग्रेस जिल्ला सभापति केशरमान रोकाले केन्द्रबाटै शीर्ष नेताले दिएको निर्देशनअनुसार दुई दलबीच तालमेलको निर्णय भएको बताए ।

दुवै दलले साझा घोषणापत्र बनाएर चुनाव लड्ने सहमति  गरेको जानकारी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us