काठमाण्डु,२ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको आारेप लगाएको छ ।
पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
रास्वपाका अनुसार थापाले उम्मेदवारी मनोनयन दर्ताको तयारी गरिरहेका बेला शनिबार दिउँसो १ बजेतिर अपहरणको शैलीमा अज्ञात स्थलतर्फ लगिएको थियो । ‘निज सुजाता थापा र उहाँको श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै अपहरणको शैलीमा अज्ञातस्थलतर्फ लिएर गएको र त्यसलगत्तै गाउँमा खैलाबैला भएको थियो’, कार्यबाहक महामन्त्री थापाले भनेका छन्, ‘यो कुरा थाहा पाएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको थियो ।’
हालसम्म असुरक्षाका कारण थापा उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको रास्वपाको दाबी छ । जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले भने उनलाई अपहरण गरिएको पुष्टि नभएको बताए ।
‘यो विषय बाहिर आइसकेपछि प्रहरीले पनि उहाँसँग सम्पर्क गरेको थियो, त्यसक्रममा सीडीओ सा’ब र मसँग पनि उहाँले कुरा गर्नुभयो’, खनालले भने, ‘त्यसक्रममा उहाँले आफूहरु सहमतिमै गएको बताउनुभएको छ ।’
आइतबार दिउँसो फोनमा सम्पर्क गर्दा पनि थापाले आफू श्रीमान्सँगै घरमा रहेको जानकारी गराएको प्रहरीले जनाएको छ ।
‘बाहिर अरु सूचना आइरहेकाले भेरिफाइ गर्न महिला प्रहरीसहितको टोली भेट्न पठाएका थियौं’, उनले थपे, ‘त्यसक्रममा उहाँले सल्लाहले हिँडेको बताउनुभयो भने त्यहीँबाट टोलीले सीडीओ साब र मसँग कुरा गराएको थियो ।’
आफूहरुले समाचारहरुमा अपहरण गरिएको भन्ने आएकाले के हो भन्ने सोध्दा थापाले त्यस्तो नभएको बताएको खनालले जानकारी दिएका छन ।