काठमाण्डु, ३० कात्तिक– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री छाड्नुपरेकामा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् ।
पार्टीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ‘रिल्याक्स’ मुडमा रहेको बताए ।
उनले अहिले मुलुकको राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुन जरुरी रहेको उनको भनाइ थियो ।
‘अहिले राजनीतिक अलिक जटिल हुँदै गएको महसुश मलाई भएको छ । हामी सबैले पनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ उनीहरुसँग मिल्न हुँदैन’, प्रचण्डले भने, ‘यसो भन्दा प्रचण्ड सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन । अहिले मैले प्रधानमन्त्री हुँदा भन्दा कम्फटेबल फिल गरेको छु, रिल्याक्स छु । जनताको बीचमा गएको छु ।’
उनले प्रतिगमनको खतरा अझै नटरेको भन्दै त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे । ठूलो संघर्षबाट ल्याएको व्यवस्था र संविधानमाथि घात हुन्छ कि भन्ने चिन्तामा आफू रहेको बताए ।