रवि लामिछाने निर्दोष भए अदालतले छाड्छः महत

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १४:१६ मा प्रकाशित

रुकुमपश्चिम, ३० कात्तिक– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफ्ना उपसभापति धनराज गुरुङ सहकारी ठगीमा संलग्न रहेको पुष्टि भए बचाउ नगर्ने बताएका छन् ।

पार्टी निकट पत्रकारको संस्था प्रेस युनियन रुकुम पश्चिमले शुक्रबार खलंगामा गरेको पत्रकार सम्मेलनमा महतले पार्टीको जुनसुकै तहको नेता भए पनि प्रश्न उठे पनि छानबिन गर्न पार्टीले भनिसकेको बताए ।

‘हाम्रो पार्टीको जोसुकै ठगीमा मुछिएको भए पनि छानबिन प्रक्रियालाई अवरोध गर्ने काम हामीबाट हुँदैन । आधार प्रमाण भए अनुसन्धान प्रक्रिया अघि बढाए हुन्छ भनेका छौँ’, महतले भने, ‘सत्तामा भएको कारणले कसैलाई बचाउने र कसैलाई प्रक्रियामा ल्याउने भन्ने लक्ष्य छैन । सबै कुरा निष्पक्ष हुन्छ । कांग्रेसले कसैलाई विभेद गरेको छैन।’

रास्वपा सभापति रवि लामिछानेको विषय अदालतमा विचाराधीन रहेकाले उनका विषयमा बोल्न आवश्यक नभएको प्रतिक्रिया दिए ।

संसदीय विशेष छानबिन समितिले नामै किटान गरेर छानबिनका लागि सिफारिस गरेकाले लामिछानेलाई पक्राउ गरिएको उनको भनाइ थियो । उनले अदालको आदेशमा लामिछाने पक्राउ परेको भन्दै अदालतले गर्ने फैसला नै अन्तिम हुने बताए ।

‘रवि लामिछानेजीको मुद्धा अदालतको हातमा गइसक्यो । अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन । निर्दोष भए अदालतले सफाइ दिन्छ । दोषी भएर कारबाही हुन्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us