नेपालको बिजुली बंगलादेश निर्यात सुरू

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १३:३६ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात थालेको छ ।

ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट स्वीच दबाएर विद्युत निर्यातको औपचारिक शुभारम्भ गरेका हुन् ।

भारतीय प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल–भारत अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइन हुँदै विद्युत बंगलादेश निर्यात सुरु भएको हो ।

मुजफ्फरपुरबाट भारतको बहरामपुर–भेरमारा–बंगलादेश ४ सय केभी प्रसारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ । विद्युतको मिटर भारतको मुजफ्फरपुरमा रहेको छ ।

नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच गत १७ असोजमा बंगलादेशमा ४० केगावाट विद्युत बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । कार्यकारी निर्देशक घिसिङले विद्युत निर्यात आगामी जुनबाट नियमित हुने बताए ।

बंगलादेशलाई बिजुली बिक्री गरेबापत नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य लिइएको प्राधिकरणले जनाएको छ ।

बंगलादेश विद्युत बिक्री गरी प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने सम्झौतामा उल्लेख छ । बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रतियुनिट दर करिब ७.६ सेन्ट पुग्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us