काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले गल्ती गर्नेहरुलाई राज्यका निकायले अनुसन्धान गर्दा विरोध गर्नु राम्रो नभएको टिप्पणी गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा वक्ता रहेका ओेलीले बिहीबार त्यस्तो बताएका हुन् ।
मानिस पक्रने र मुद्धा चलाउने काम आफ्नो नभई प्रहरी र सरकारी वकिलको भएको प्रष्टीकरण उनले दिए ।
ओलीले सहकारी छानबिन समितिले दोषी ठहर गरेर कारबाही सिफारिस गरेका कारण प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको उल्लेख गरे ।
समितिको प्रतिवेदन कार्यान्यवनका लागि सभामुखले गृह मन्त्रालय पठाएको र गृह हुँदै प्रहरीसम्म पुगेपछि लामिछाने पक्राउ परेको उनको भनाइ थियो । उनले आफू कहाँ प्रतिवेदन नआएको र आफूले नहेरेको पनि बताए ।
लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा छानबिनका लागि काठमाण्डुबाट पक्राउ गरी पोखरा लगेको थियो ।
लामिछानेले खुर्सानी खाएको र पिरो भएपछि आफूलाई गाली गरेको ओलीको तर्क थियो । ‘आफू खुर्सानी खान्छ । पिरो भएपछि मलाई गाली गर्छ’, ओलीले भने ।
ओलीले आफूलाई लामिछाने सहकारी ठगीमा संलग्न रहेको विश्वास सुरुमा नभएको बताए ।
वासिङ मेशिनमा तीनफेर धोएको जस्तो कुरा गर्ने लामिछाने सहकारी ठगीमा संलग्न होलान् भन्ने अनुमान आफूले गर्न नसकेको उनले बताए ।
सोही कारण सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने काँग्रेसको माग आफूले अस्वीकार गरेको उनको भनाइ थियो ।
तर, लामिछाने स्वयंले माग गरेको र ततकालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड गरेकाले आफूले नचाहँदा नचाहँदै समिति गठन भएको स्वीकार गरे ।
‘वासिङ मेशिनमा पनि तीनफेर धोएको जस्तो कुरा गर्ने रविले सहकारी ठगी गरेका होलान् भन्ने अनुमान मैले गर्न सकिन’, ओलीले भने, ‘मैले संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने आवाज उठ्दा पर्दैन भनेको हुँ । सर्वदलीय बैठक र सार्वजनिक रुपमै रविले समिति गठनको माग गरे ।’ ओलीले रास्वपा सांसद समेत रहेको समितिले कारबाहीका लागि नामै तोकेर सिफारिस गरेका कारण संसदको निर्देशनमा सरकारले सिफारिस कार्यान्यवन मात्र गरेको टिप्पणी गरे ।
पक्राउ गर्ने काम आफूले नभई सहकारी ठगीको प्रतिवेदन सभामुखमार्फत गृह मन्त्रालय हुँदै प्रहरीकोमा पुगेपछि अदालतको आदेशमा पक्राउ गरिएको उनको भनाइ थियो ।
लामिछाने निर्दोष भए सफाई पाउने र दोषी ठहर भए आफूले गरेको कर्मको फल उनैले भोग्नुपर्ने ओलीले बताए ।
ओलीले अगाडि भने, ‘बदमासी गरे पुलिसले छानबिन गर्छ,’ उनले भने, ‘म आफ्नो काममा हुन्छु । अदालतले प्रक्राउ पुर्जी दिन्छ । प्रहरीले अनुसन्धान गर्छ । प्रहरीको काम म गर्दिनँ । जो कोही होस् गल्ती गर्ने जान्छ ।’