काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई हत्या गर्न जनतालाई भड्काएको आरोप लगाएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले राजधानीमा गरेको ‘कान्तिपुर कन्क्लेभ–२०२४’ मा वक्ता रहेका ओलीले बिहीबार आफूलाई मार्न लामिछानेले उक्साएको बताए ।
‘एउटा न्यूज–२४ मा एक जना पत्रकार ल्यापटप अगाडि राखेर उफ्रीउफ्री कराउँथे तिनले एकपटक भने किन यसो गर्नुप-यो । गल्लीमा जनतालाई किन दुःख दिनुपर्यो । केपी ओली बालकोटामा बस्छ नि बाटामा हिंड्दा हिंड्दै ढुंगाले किचेर मार न त्यसलाई । बालकोटमै गएर कुटीकुटीकन ढुंगाले किच्याएर मारन चिच्याई चिच्याई बोले’, उनले भने ।
ओलीले बोल्दै गर्दा कार्यक्रम सञ्चालन गरिरहेका कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले बीचैमा उनलाई रोकेर सोधे, ‘तर बालकोट त आफैं पुगे, भान्सासम्मै पुगे ?’ ।
ओलीले आफू क्षमाशील मानिस भएकाले माफी दिएको जवाफ दिए । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेरि आफूकहाँ ज्ञापनपत्र लिएर आउने बताए । ‘म त क्षमाशील छु मान्छे । आग्रह हेर्दिन । त्यही रास्वपा भरे भोलिसम्म फेरि ज्ञापनपत्र लिएर आइपुग्छ । तपाईंहरुलाई समाचार दिउँला फोटोसहित’, उनले भने ।
ब्रह्मा विष्णु, दुर्गा र सरस्वतीलाई सम्बोधन गर्न सम्मानपूर्वक सम्बोधन गर्ने संस्कृतिबाट आएको नेपालीहरुको गौरवपूर्ण संस्कृति र सभ्यतामाथि धावा बोल्ने काम गरेको बताए ।
‘युट्युब यसो खोलेर हेर्नुस् त हतारहतार साउण्ड सानो बनाउुहुन्छ वा बन्द गर्नुहुन्छ परिवारका अरु सदस्यले सुन्लान भनेर । कता लाँदैछौं हाम्रो समाजलाई ? के असभ्य समाज बनाउँदैछौं ? काट, मार ढुंगा हान’, ओलीले भने ।