काठमाण्डु, २९ कात्तिक–एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न चीनको सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागले चीनको जेङ्सु प्रदेशस्थित नानजिङमा आयोजना गरेको ‘ग्लोबल साउथ थिंक ट्यांक डाइलग’ लाई वक्ताका रूपमा सम्बोधन गर्दै उनले नेपालको उक्त प्रयासमा चीनसहित नेपालका हितैसी मुलुकको सहयोग जरुरी रहेको बताए ।
ग्लोबल साउथ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव समद्धिका लागि लाग्नुपर्नेमा उनको जोड थियो ।
पोखरेलले विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताहरूको कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यकता रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासका लागि विश्वका विभिन्न सभ्यताको आदान–प्रदान आवश्यक रहेको चर्चा गर्दै यसले सबै सभ्यतालाई थप विकास गर्न सहयोग गर्ने धारणा व्यक्त गरे ।
उनले प्रकृतिले धेरै स्रोतहरूको उपहार दिएको नेपालमा रहेका प्राकृतिक स्रोतहरूलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरूले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सहयोग गर्न आग्रह गरे ।