केपी ओली चाइना कार्ड खेल्न उद्धत छन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले चिनियाँ कार्ड खेल्न खोजेको आरोप लगाएका छन् ।

भारतीय पत्रिका द हिन्दूका लागि दिएको अन्तर्वार्तामा उनले ओली चिनियाँ कार्ड खेल्नकै लागि बेइइजिङ जाने तयारीमा रहेको बताए ।

ओली सरकार बनेपछि नेपाल–भारत सम्बन्धमा तनाव बढेको उनको भनाइ थियो । आफू १८ महिना प्रधानमन्त्री रहँदा नेपाल–भारत सम्बन्धमा सुधार गरे पनि ओली आएपछि बिग्रिएको टिप्पणी प्रचण्डले गरेका छन् ।

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका सहमतिहरुले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरे ।

‘मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगका वार्ताहरूबाट केही महत्त्वपूर्ण सम्झौता र गहिरो समझदारी कायम भएको थियो’, उनले भनेका छन्, ‘जसको प्रभाव लामो समयसम्म रहनेछ ।’

प्रचण्डले दुई देशबीच राष्ट्रिय हितलाई केन्द्रमा राखेर बलियो सम्बन्ध बनाउन सकेकामा आफूलाई गर्ब लागेको उनले उल्लेख गरे ।

‘मेरो नेतृत्वको सरकार गिरेपछि अहिले भारतसँगको सम्बन्ध बिग्रिएको छ । नेपाल–भारत सम्बन्धमा जुन तनाब बढेको छ, यसले कसैको पनि हित गर्दैन’, प्रचण्डले भनेका छन् ।

प्रचण्डले ओलीलाई भारतले भ्रमणको निम्ता नदिएबाट त्यसको पुष्टि हुने जिकिर गरे । ओलीको अपरिपक्व र अदुरदर्शी कूटनीतिका कारण त्यस्तो भएको पनि उनको निस्कर्ष छ ।

प्रचण्डले नेपालको भूगोल, इतिहास र संस्कृतिका आधारमा चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा ओली सरकार चीनतिर ढल्किएको आरोप उनले लगाए ।

‘केपीजीको चीन भ्रमण चाइना कार्ड खेल्नका लागि मात्र हो भन्ने देखिएको छ’, उनले भने, ‘हामीले चीन र भारत दुवै देशसँग सन्तुलित सम्बन्धलाई जोड दिनुपर्छ ।’

नेपाल–भारत सम्बन्धलाई सचेततापूर्वक सञ्चालन गर्नुपर्ने र आपसी समझदारीका आधारमा समस्या सुल्झाउनुपर्ने बताए ।

फरक प्रसंगमा आफू तत्काल प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट गरे ।

आफू सरकारबाहिरै बसेर जनसम्बन्ध सुमधुर गर्ने पक्षमा भए पनि पदले आफूलाई पछ्याउने हो कि भन्ने डर लागिरहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us