काठमाण्डु, २९ कात्तिक– एमालेले जंगबहादुर शाहीलाई आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।
शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । शाही एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही दुई दिनअघि (मंगलबार) मात्र माउ पार्टीमै फर्किएका थिए ।
जनाधार बलियो भएकाले शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको आचार्यले बताए । शाही यसअघि २०७४ सालमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
तर, ०७९ को स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी कांग्रेसका लक्ष्मण गुरूङसँग पराजित भएका थिए । त्यतिबेला शाही तेश्रो भएका थिए ।
गाउँपालिका अध्यक्ष गुरूङको २०७९ माघ २७ गते निधन भएपछि पनि उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसले झलकबहादुर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रकाशबहादुर बुढालाई उम्मेदवार घोषणा गरेको छ ।