ज्योतीले अमेरिकामा कम्बोडियनसँग विवाह गरिसकिन्ः धनराज

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– काँग्रेस उपसभापति धनराज गुरुङले ज्योती गुरुङसँग आफ्नो सम्बन्ध विच्छेद नक्कली नभएको बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका गुरुङसँग बुधबार आफ्नै कार्यालयमा बोलाएर बयान लिएको थियो ।

बयानका क्रममा गुरुङले सहकारी डिभोर्स गरेको भन्दै आफूमाथि निराधार लाञ्छना लगाइएको बताए ।

गुरुङले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरे । आफू श्रीमती पीडित रहेको भन्दै उनी बयानमा संलग्न प्रहरी अधिकारीका अगाडि भावुक बनेका थिए ।
धनराजले आफू र ज्योतीबीच ०७६ फागुनमा सम्बन्ध विच्छेद भएको बताएका छन् ।

तर, सम्बन्ध विच्छेदपछि पनि गुरुङले ज्योतीले सहकारीबाट अपचलन गरेको पैसा तिदै आएका छन् । त्यसबारे प्रहरीले सोधेको प्रश्नमा उनले सम्बन्ध विच्छेदअघि आफूहरुबीच भएको सहमतिका आधारमा ऋण तिर्ने र छोराको लालनपालन गर्दै आएको जवाफ दिए ।

बयानका क्रममा उनले ज्योतीले अहिले विदेशी नागरिकसँग विवाह गरिसकेको समेत दाबी गरे । अमेरिकामा रहेकी ज्योतीले कम्बोडियन नागरिकसँग विवाह गरेको बयान दिएको सिआईबीका एक अधिकारीले बताए ।

‘मेरो सम्बन्ध विच्छेद नक्कली भनेर लगाइएको आरोप सत्य होइन । बास्तवमै म श्रीमती पीडित हुँ । नक्कली सम्बन्ध विच्छेद भएको भए उनी (ज्योती) विदेशी नागरिकसँग विवाह गरेर बस्ने थिइनन् होला’, गुरुङको भनाइ उद्धृत गर्दै ती प्रहरीले भने ।

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले धनराज र ज्योतीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी दिएका थिए ।

उस्तै मुद्धामा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर थुनामा राखेको र धनराज र एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई अनुसन्धानको घेराबाहिर राखिएकामा सरकारको सर्वत्र आलोचना हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us