काठमाण्डू, २८ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १६ कात्तिकमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।
४४ पदका लागि हुने उपनिर्वाचनका लागि १७ जना उम्मेदवार तय गरेको हो ।
ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपा सहभागी नहुने भएको छ ।
२५ स्थानका उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा र जाजरकोटको नलगाड नगरपालिकाको उपाध्यक्षमा उम्मेदवार पार्वती पुनलाई उम्मेदवार चयन गरेको छ ।
यस्तै दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठ, हुम्लाको सर्केगाड गाउँपालिकालउपाध्यक्षमा सुजाता फडेरा थापा लाई उम्मेदवार बनाउने रास्वपाको निर्णय छ ।
काठमाण्डू महानगरपालिका-१६ को वडाअध्यक्षमा रोजिना श्रेष्ठलाई रास्वपाले उम्मेदवार बनाएको छ ।
आकांक्षीहरुसँग छलफल तथा पार्टीको स्थानीय नेतृत्वको सिफारिसका अनुसार उम्मेदवार तय गरिएको झाले उल्लेख गरे ।
बाँकी स्थानको उम्मेदवार छनोट प्रक्रियामा रहेको कार्यबाहक प्रवक्ता झाले बताए ।
ग्रामथान गाउँपालिकालअध्यक्ष, डाक्नेश्वरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको प्रमुख, स्वामीकार्तिक खापर र पुथा उत्तरगंगाको उपाध्यक्ष उम्मेदवार चयन हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।
१६ मंसिरमा हुने उप निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।