काठमाण्डु, २८ कात्तिक– आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्दै प्राइम टाइममा टेलिभिजनमा अन्तर्वार्ता दिएका नवराज अर्यालसँग प्रहरीले सोधपुछ गरेर उनले भ्रम फैलाउन खोजेको निष्कर्ष निकालेको छ ।
अर्यालले बताएका विषयहरु घटनास्थलका विषयसँग मेल खाएका छैनन् भने उनले लिएका नामबारे पनि प्रहरीले पहिल्यै अनुसन्धान गरिसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।
अर्यालले पत्रकार ऋषि धमलासँग टेलिभिजन अन्तर्वार्ता दिँदै मोटरसाइकलमा गएका बेला आफूले पन्तमाथि बलात्कार हुँदै गरेको देखेको बताएका थिए । उनले आफू त्यसबेला खानेपानीमन्त्री विना मगरको गाडी चलाउने गरेको बताउँदै कञ्चनपुर गएका बेला त्यो घटना देखेको दाबी गरेका थिए ।
त्यसपछि आफूमाथि पटक–पटक आक्रमण भएको उनले बताएका थिए । ‘तर, उनी त्यसबेला कञ्चनपुरको पुनरवासमा गएको देखिन्छ, त्यहाँबाट घटनास्थल आउन ४० किलोमिटर दूरी छ, उनले मन्त्रीको घरमा गएर चौधरी थरको व्यक्तिको मोटरसाइकल लिएर घटनास्थल आएको भनेका छन्’, एसपी बोगटीले भने, ‘तर, उनले भने जस्तो डेढ घन्टासम्म मन्त्रीलाई छाडेर अन्यत्र जान सक्ने सम्भावना नै देखिन्न ।’
उनले थपे, ‘अझ गोरखाको मान्छे पहिलो चोटी कञ्चनपुर गएको स्थिति छ, उसले त्यहाँ कोही चिनेको छैन, ठाउँबारे पनि थाहा छैन । यस्तोमा एक झलकमा तीन जना उखुबारीमा देखेको र उनीहरुलाई स्पष्ट चिन्ने भन्ने बयान पनि अपत्यारिलो छ ।’
अर्यालले घटनास्थल बेलौरी जाने बाटोमा भनेपनि त्यो नमिलेको बोगटीले बताए। ‘निर्मला प्रकरणको घटनास्थल हाइवेबाट डेढ दुई किलोमिटर भित्रपर्छ, उसले वेलौरी जाने बाटोमा हो भन्छ । त्यो घटनास्थल अपोजिट साइडमा पर्छ’, उनले थपे ।