जनता फेरि एकपटक माओवादीलाई विश्वास गर्न तयार भएका छन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आगामी १५६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले आफूहरु बदलिन चाहेको र त्यसका लागि अवसर दिनुस् भन्दै जनतामा जान निर्देशन दिए ।

‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए । त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं’, प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हामी बदलिन चाहन्छौं । अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोलटोल र घरघरमा पुग्नुहोस् ।’

अन्य दलभन्दा माओवादी फरक भएको दाबी गर्दै उनले सरकारमा भएका बेला आफूहरुले हरेकपटक रुपान्तरणकारी काम गरेको बताए ।

पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गर्दै उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर नसकेका काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्टसँग बुझिसकेका छन् । त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्’, प्रचण्डले भने, ‘अब मुख्य कुरा हामी आफै जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रुपान्तरण हुन आवश्यक छ ।’

कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र बिद्रोहको केन्द्र भएको उल्लेख गर्दै उनल यहाँको इतिहास, वीरता र बिद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे ।

सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कृतिमान कायम गर्ने विश्वास व्यक्त गरे ।

यसपटकको उपनिर्वाचनमा यो नगरपालिकामा माओवादी केन्द्रको जीतको आधार बलियो बन्दै गएको पनि प्रचण्डले बताए ।

इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षकको रुपमा कीर्तिपुरको सामाजिक व्यक्तित्वको रुपमा स्थापित प्रा डा शिवशरण महर्जनलाई आफूहरुले उम्मेदवार बनाएको भन्दै उनले जित्ने दाबी गरे ।

कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा कीर्तिपुरको प्रमुखका महर्जन, वडा नम्बर–१ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर–४ को अध्यक्षका लागि ईञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us