काठमाण्डु, २७ कात्तिक- सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुरका ३० वर्षीय परमानन्द भन्ने विजनन्दन ठाकुर पक्राउ परेका हुन् ।
प्रहरीले ठाकुरलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको छ ।
मकवानपुरका शिक्षक प्रेमबहादुर बम्जनमाथि गत आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा गोली प्रहार भएको थियो ।
गालामा गोली लागेका बोम्जनको काठमाण्डुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले घटनामा संलग्न अरु दुई जनाको खोजी जारी रहेको बताए ।