काठमाण्डु, २७ कात्तिक– प्रहरीले एमाले नेता एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ गरेको छ ।
जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ ।
यो प्रकरणमा अधिकारी समेत अहिले प्रहरी हिरासतमा छन् । नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।