काठमाण्डु, २७ कात्तिक– ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् ।
आज मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाण्डु जिल्ला अदालतमा पेस गरेको थियो ।
लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।