एमाले जनप्रतिनिधिले फुटाइदिए नगर प्रहरीको अण्डकोष

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक- पोखरामा जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् ।

करारका कर्मचारी हटाउने निर्णयको विरोधमा उत्रिएका एमाले जनप्रतिनिधिले नगर प्रहरी सन्तबहादुर केसीको अण्डकोषमा प्रहार गरेका हुन् । केसीको सोमबार शल्यक्रिया गरिएको छ ।

पोखरा महानगरपालिको कार्यपालिका बैठकले गत १५ कात्तिकमा करारका २८ प्राविधिक कर्मचारी हटाउने निर्णय गरेको थियो ।

आफूहरुको विरोधबीच  करारका कर्मचारी हटाइएको भन्दे एमालेका जनप्रतिनिधि आन्दोलनमा छन् । लोकसेवामार्फत नयां कर्मचारी हाजिर हुन आएकाले करार कर्मचारी हटाइएको महानगरले जनाएको छ ।

आन्दोलनकारी जबर्जस्ती मेयरको कार्यकक्षमा जान खोजेपछि नगर प्रहरीमाथि आक्रमण गरेका थिए ।

यद्यपि एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रहरीमाथि आक्रमण गरिएको भन्ने आरोप निराधार भएको बताएका छन् ।

नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने आक्रमण भएको र कारबाहीका लागि कास्की प्रहरीमा जानकारी गराइएको बताए ।

घाइते नगरप्रहरी  भेट्न अस्पताल पुगेका पोखरा महानगरका मेयर धनराज आचार्यले घटनाको निन्दा गरे ।

सामान्य नगर प्रहरीमाथि आक्रमण गरी शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुर्साउनु निन्दनीय भएको टिप्पणी गरे ।

नगर प्रहरीको संवेदनशील अंगमा गम्भीर चोट लागेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us