आज हरिबोधिनी एकादशी, के छ शास्त्रीय महत्व ?

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते ७:३८ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भन्ने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

यसै अवसरमा काठमाण्डु उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाण्डुको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाईंदैछ । गुल्मीको धार्मिक स्थल रेसुङ्गा र रुद्रवेणी धाममा पूजाआजा र स्नान गर्ने श्रद्धालुको बिहानैदेखि घुईंचो लागेको छ ।

।हरिबोधनीमा उपवास बसी नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us