दुई उपसभापतिलाई रविको निर्देशनः मेरो पक्राउ राजनीतिक प्रतिशोध हो भन्ने बुझाउनुस्

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न आज सोमबार दुई उपसभापति डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन ।

जिल्ला प्रहरी कार्यलय कास्की पुगेका उनीहरुले सभापति लामिछानेसँग प्रहरी हिरासत भित्रै भेटवार्ता गरेका हुन ।

सोमबार भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए ।

उनले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए ।

प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अर्यालले सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताए । आफ्ना सभापति लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उनको टिप्पणी छ ।

भेटपछि सञ्चमरकर्मीसँगको कुराकानीमा उपसभापति अर्यालले राजनीतिक प्रतिशोध हो कि होइन भन्ने कुरा सर्वसाधारणलाई बुझाउन आग्रह गरेको बताए ।

अर्का उपसभापति वाग्लेले सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको बताए ।

उनले सञ्चारकर्मीहरुसँग भने, ‘राजनीतिक प्रतिशोधले अनावश्यक हिरासतमा राखिएको हो । हामीलाई विधिको शासनमा अटल विश्वास छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us