विद्युत प्राधिकरणलाई लक्ष्य गर्दै मन्त्री गुरूङले भने: सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भने क्षम्य हुँदैन

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन ।

आज सोमबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुका प्रशनको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।

उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको पनि बताएका छन ।

उनले समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको पनि बताए ।

उनले गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भए पनि सरकारले नछोड्ने पनि बताएका छन । उनले भने, ‘वर्तमान सरकार दृढसंकल्पित छ। साथ, समर्थन र सुझाव भइरह्यो भने गलत कुराहरुको रोकथाम र नियन्त्रण गर्नेकुरामा लाग्नेछौँ ।

अहिलेका सबैकुरा एकै दिनमा हुँदैनन्। हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन ।

कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला । त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस् की, कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us