काठमाण्डु, २६ कात्तिक– प्रहरीले काठमाण्डुको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा छन् । ५१ वर्षीय लामालाई तिनचुलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
लामा सो सहकारीको तत्कालीन ऋण उपसमिति सदस्य हुन् । यो सँगै स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ पर्नेका सङ्ख्या २ पुगेको छ ।
यसअघि लेखा समितिकी सदस्य काठमाण्डु महानगरपालिका–३१ घर भएकी सुनिता नेवा पक्राउ परेकी थिइन् ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न २४ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।
रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।