सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा लागेको छ: माओवादी

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहेको भनिएका बेला माओवादी केन्द्रले यस्तो आरोप लगाएको हो ।

आज (सोमबार) पार्टी अध्यक्ष प्रचण्डको निवास खुालटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै गएको बताए ।

नेकपा माओवादीका प्रवक्ता समेत रहेका सपकोटाले भने, राम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ, ‘यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’

उनले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको पनि बताएका छन । उनले संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए ।

साथै माओवादीले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ ।

त्यो निर्वाचन प्रणालीमा गएपछि मात्र अहिले देखिएका विकृति र विसंगतिको अन्त्यका साथै राजनीतिक अस्थिरता पनि हट्ने उसको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us