काठमाण्डु, २६ कात्तिक– आज (सोमबार) नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका हुन ।
हिजो आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो ।
उक्त निर्णय मुख्यसचिव हुँदै सोमबार ऊर्जा मन्त्रालयमा पुगेको थियो । मन्त्रालयले सो जानकारी प्राधिकरणमा पनि पठाइसकेको छ ।
अहिले सञ्चालक समितिमा सोही निर्णय कार्यान्वयनको बारेमा छलफल हुने बताइएको छ ।
प्राधिकरणको नेतृत्व भने बक्यौता नबुझाएसम्म लाइन जोड्न नहुने अडानमा छ । सोमबारको सञ्चालक समितिको बैठकमा पनि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोही अडान दोहोर्याउने छन् ।
तर ऊर्जामन्त्री दीपक खड्का जसरी हुन्छ उद्योगमा लाइन जोड्नुपर्ने पक्षमा छन् ।