धरान, २५ कात्तिक– प्रधानमन्त्री केपी ओली आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोह उद्घाटन गर्न सोमबार धरान आउन लागेका हुन् ।
प्रतिष्ठानको कुलपतिसमेत रहेका ओलीले समय नदिँदा दीक्षान्त समारोह हुन सकेको थिएन ।
ओलीको समय नपाएर दीक्षान्त समारोह नहुँदा अध्ययन सकेका डाक्टर र स्टाफ नर्स दीक्षित हुन पाएका छैनन् ।
एकपछि अर्को गरी ओलीविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी र प्रदर्शन हुन थालेपछि सुरक्षा संयन्त्र चनाखो भएको छ ।
कोसी राजमार्गअन्तर्गत विराटनगर–धरान सडक खण्डमा बाक्लो सुरक्षा तैनाथी छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले कोसी राजमार्ग र कार्यक्रम स्थल आसपास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको बताए ।
सहकारी ठगीमा आफ्ना सभापति पक्राउ परेको विरोधमा आन्दोलनरत रास्वपा कार्यकर्ता र पहिचान पक्षधरले ओलीविरुद्ध प्रदर्शन गर्न सक्ने आंकलन प्रहरीको छ ।