काभ्रे, २५ कात्तिक–अंश विवादमा बुवाको हत्या गरेको आरोपमा काभ्रे प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका–७ निवासी ४४ वर्षीय रामलाल श्रेष्ठ छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गर्दै आरोपी श्रेष्ठलाई सार्वजनिक गरेको छ ।
डीएसपी मिनबहादुर घलेका अनुसार उनले बुवा ७४ वर्षीय बलबहादुर श्रेष्ठको हत्या गरेको स्वीकार गरेका छन् ।
भनेको बेला अंश नदिएको निहुँमा रामलालले यही कात्तिक ८ गते राति मुक्का, हँसिया, फलामे गलसहितले प्रहार गरेर बुवाको हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, हत्या घटना भने दुई दिनपछि मात्रै सार्वजनिक भएको थियो ।
श्रेष्ठलाई आफ्नै घरमा आफू सुत्ने कोठामा छोरीले मृत अवस्थामा फेला पारेकी थिइन् । त्यसपछि उनले काकालाई खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
डीएसपी घलेका अनुसार रामलालले कात्तिक ८ गते बुवासँग अंश मागेका थिए । बुवा बलबहादुरले भाइलाई समेत सँगै राखेर अंशको विषय टुंगो लगाउने बचन दिएपछि बाउछोराबीच विवाद भएको थियो ।
‘अंशको विषयमा विवाद बढेपछि छोराले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी बुबाको छेउमा रहेको हँसियाले टाउकोमा चार/पाँचपटक प्रहार गरेको र त्यसपछि नजिकै रहेको ढोकामा लगाउने आग्लोको रुपमा प्रयोग गर्ने गरेको फलामको गल निकाली प्रहार गर्दा बलबहादुर ढलेको र सोही समयमा गलले घाँटी थिचेर हत्या गरी फरार भएको खुल्न आएको छ’, अनुसन्धानपछि काभ्रे प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुवाको हत्यापछि फरार रहेका रामलाललाई काभ्रे प्रहरीले यही कात्तिक २३ गते स्थानीय ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा स्थानीयबासीको सहयोगमा पक्राउ गरेको हो। उनी पद्र दिनसम्म ढोडेनी वन र नजिकै रहेको ढोडको कुन्यूमा दुई साता लुकेर बसेको खुलेको छ ।
रामलालले यसअघि पनि बुवालाई कुटपिट गरी घाइते बनाएको खुलेको छ। त्यतिबेला बलबहादुरले आफूलाइ खाना बनाएर खुवाउने र हेरचाह पनि रामलालले नै गर्ने भएकाले कारवाही नगर्न अनुरोध गरेका थिए ।
थप अनुसन्धानका लागि रामलाललाई आइतबार काभ्रे जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको प्रहरीले डीएसपी घलेले बताए ।