काठमाण्डू, २५ कात्तिक- सरकारले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र विद्युत आपूर्ति सुचारू गराउन निर्देशन दिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र उद्योगमा विद्युत जोड्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको तथा अर्थतन्त्रमा प्रत्यक्ष असर परेकोले २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।
१५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्को वक्यौता असुलउपर गर्न पनि मन्त्रिपरिषदले निर्देशन दिएको उनले बताए ।
‘उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, राजस्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत् लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मिलाउने,’ प्रवक्ता गुरुङले भने, ‘साथै १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्को वक्यौता रकम बिलअनुसार असुल उपर गर्ने ।’
सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महशुलसम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले २०८१ वैशाख २३ मा पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न उर्जा मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।