काठमाण्डू, २५ कात्तिक- सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभा सदस्य गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाइउन संसद सचिवालयलाई फेरि पत्राचार गरेको छ ।
अध्यक्ष सिके राउतले पार्टीबाट निष्काशन गरिसकिएकाले सांसद पदबाट हटाइदिन आग्रह गर्दै गत १ कात्तिकको मितिमा सभामुख देवराज घिमिरेलाई पत्र पठाएका हुन् ।
सापकोटालाई संसदबाट हटाइदिन आग्रह गर्दै पत्राचार गरेको यो तेस्रोपटक हो ।
संसद् सचिवालय स्रोतका अनुसार पत्रमा अध्यक्ष राउतले निर्माण व्यवसायीसँग रकम मागेको तथा दल विभाजन गराउन छलफल गरेको आरोप लगाएका छन् ।
पत्रबारे सभामुख घिमिरेले निर्णय गरेका छैनन् । उनले यसअघि दुईपटकसम्म सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरिसकेका छन् ।
लाभलाई सांसद पदबाट हटाउन जनमत पार्टीले यसअघि दुई पटक संसद सचिवालयमा पत्राचार गरे पनि प्रक्रिया नपुगेको भन्दै सभामुखले रोकेका थिए।
२०८० फागुन १४ र २७ गते सोही विषयमा पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।
सापकोटालाई जनमत पार्टीले समानुपातिक तर्फबाट सांसद बनाएको थियो ।