काठमाण्डु, २५ कात्तिक– सात्ताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकको वृद्धि भएको छ । आज ६२.५४ अंकले बढेको परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ ।
आज कारोबार रकम पनि उल्लेख बढेको छ । कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज २२८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ ।
सानिमा जीआईसी इन्स्योरेन्सको कारोबार भने सबैभन्दा धेरै भएको छ । यसको ३८ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आइतबार जलविद्युत् कम्पनीप्रति लगानीकर्ता होम्मिए । उक्त उपसमूहको सूचक ४.२६ प्रतिशतले वृद्धि भएको छ ।