राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते ८:३२ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान प्रस्थान गर्दैछन् ।

बाकुमा हुने २९औं जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप) मा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले २७ मा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाण्डु उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।

नेपालका तर्फबाट सम्मेलन प्रस्तुत गर्ने एजेन्डाबारे विभिन्न तहमा तयारी भइरहेको बताइएको छ । सम्मेलन यही कात्तिक २६ सुरु भइ मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति पौडेल आगामी ३० कात्तिकमा स्वदेश फर्कने कार्यतालिका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us