१५ रात्रि बस प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते ८:२५ मा प्रकाशित

सुर्खेत, २५ कात्तिक– प्रहरीले सुर्खेतमा १५ वटा रात्रि बस नियन्त्रणमा लिएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु बोकेका ती बस वीरेन्द्रनगरको सुब्बाकुनामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ती बसहरु शनिबार सुर्खेतबाट काठमाण्डुका लागि छुटेका थिए ।

प्रहरीले अर्को बसको बन्दोबस्त गरेर यात्रुलाई गन्तव्यमा पठाएको छ । कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको बस शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

सिट क्षमताभन्दा बढी यात्रु चढाएका कारण दुर्घटना भएको प्रहरीले बताएको थियो ।

दुर्घटना हुनुमा प्रहरीको लापरबाही जिम्मेवार रहेको भन्दै शनिबार वीरेन्द्रनगरमा प्रदर्शन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us