काठमाण्डु, २५ कात्तिक– किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
फाल्गुनन्दको जन्म २५ कात्तिक १९४२ मा इलाममा भएको थियो ।
किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दले महत्त्वपूर्ण योगदान दिएका छन् । समाज सुधारका लागि फाल्गुनन्दले ‘सत्य धर्म मुचुल्का’ धर्म निर्माण गरेका थिए ।
उक्त धर्ममा छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन् ।
यो सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागिसमेत अनुकरणीय छन् ।
महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिपरेका थिए । त्यसक्रममा उनले देशद्रोहको अभियोग समेत खेपे ।
किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो ।
किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई सरकारले ०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
यसैबीच फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।