काठमाण्डु, २४ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा आफूहरु चुकेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत कार्कीले आफूहरु चुकेको भन्दै माफी मागेका हुन् ।
मानव तस्करीमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीमाथि एमालेले कारबाही गरेकामा स्वागत गर्दै उनले आफूहरु भने चुकेको टिप्पणी गरे ।
एमाले कोशी प्रदेशले शनिबार कार्कीलाई साधारण सक्रिय सदस्यताबाटसमेत निलम्बन गरेको थियो । उक्त कारबाहीलाई शनिबारै बसेको एमाले स्थायी समितिले अनुमोदन गरेको छ ।
कार्कीले आफूले मौनताका लागि सार्वजनिक माफी माग्नेसमेत लेखेका छन् ।
‘नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनुपर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनुपर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौं’, कार्कीले लेखेका छन्, ‘मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु ।’
यद्यपि एमालेले कोशीका निवर्तमानमन्त्री अधिकारीलाई अहिले कारबाही गरेको भए पनि आगामी दिनमा हुने कारबाहीको निष्पक्षताबारे हेरिरहने बताए ।
‘जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानबिनका लागि अनुरोध गरेको छ’, कार्कीेले लेखेका छन्, ‘यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौं ।’
जापानमा हुने एक सांस्कृतिका कार्यक्रमका लागि भन्दै अधिकारीसँगै मानव तस्करको सेटिङमा नुवाकोटका एक र खोटाङका दुई युवा जापान उडेका थिए ।
तर, टोकियो विमानस्थलको अध्यागमन कार्यालयले कागजात शंकास्पद लागेर मन्त्रीसहित चारैजनालाई गत १४ कात्तिकमा डिपोट गरिदिएको थियो ।
उनीसँग गएका तीन युवालाई प्रहरीले त्रिभुवन विमानस्थल कार्यालयबाट पक्राउ गरे पनि अधिकारी भने आफू मन्त्री भन्दै परिचयपत्र देखाएर उम्किएका थिए ।
उक्त घटना सार्वजनिक भएपछि अधिकारीले बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका छन् ।