काठमाण्डु, २४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर अब आन्दोलन सुरु गर्ने बताएका छन ।
आज (शनिबार) मकवानपुरमा योङ कम्युनिस्ट लिग (वाइसीएल) को नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताएका छन ।
प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने पनि बताएका छन । उनले मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको भन्दै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको पनि बताएका छन ।
उनले भने, ‘नयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ । बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छझ, प्रचण्ड थाकेको छैन, थाक्दैन पनि ।’
कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै उनले अब नागरिकसँग माफी मागेर अघि बढ्ने पनि बताएका छन । उनले कांग्रेस र एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको जिकिर गरे ।