काठमाण्डु, २४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको दाबी गरेका छन ।
आज (शनिबार) मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई आफूले नियुक्त गरेको पनि बताएका छन ।
उनले भने, ‘देशमा लोडसेडिङ नभएको यो सरकारलाई मन परेको छैन । उनीहरू दलाल पुँजीपतिलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनतालाई मात्र तिर्न बाध्य पार्न कुलमानलाई निकाल्न खोजेको निकै ठुलो चालबाजी तपाईँहरूले थाहा पाइसक्नुभएको छ । धेरै कुरा भनिराख्न आवश्यक नै छैन ।
एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतिर लाग्यो, अर्को प्रधानमन्त्रीलाई त्यो सह्य भएन, त्यस कारण उज्यालोबाट अँध्यारोतर्फ लान उद्यत छ ।’
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला सरकारी जग्गा जालझेल गर्ने, आफ्नो नाममा लैजाने भूमाफियालाई गिरफ्तार गरेर कारबाहीका लागि हिरासत पुर्याएको तर अर्कोतिर तिनै व्यक्तिबाट अहिलेको प्रधानमन्त्रीले दान लिएर खुला रूपमा भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको पनि बताएका छन ।