सत्ता फासिस्ट, सडक अराजक पपुलिष्ट हुँदै जानेछ: महासचिव भुसाल

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने दाबी गरेका छन । उनले मुलुकमा सत्ता फासिस्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने पनि बताएका छन ।

महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताएका छन । आज शनिबार काठमाण्डुमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन ।

उनले घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने तर्क गर्दै उनले त्यसका लागि क्रान्तिकारी एजेन्डासहितको समूह सडकमा आउनुपर्ने पनि बताएका छन ।

महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेनिनलाई पुनर्जागृत गर्न सक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउन सक्ने पनि बताएका छन । उनले भने, ‘हामी कहाँ घुस नखाने व्यक्तिहरू धेरै छन् ।

तर घुस नखाने पार्टी बनाउनु पर्यो । घुस नखाने बित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ ।

त्यसका लागि तपाईँले साम्राज्यवादसँग लड्नुपर्दछ । आजको लेनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लेनिन होइन, आजको लेनिनलाई पुनर्जागृत गर्नुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us