प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा केन्द्रित हुने भएको छ । आज शनिबार एमाले मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन ।

उपमहासचिव ज्ञवालीले भने,‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट र वार्ता सकेर उहाँ फर्किनुहुन्छ’ ‘मूलत विगतमा चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयनमै हाम्रो जोड हुनेछ ।

त्यस अलावा स्वभाविक रुपमा दुई पक्षीय हितका विषयमा कुराकानी हुनेछ ।’ प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको अधिकतम हित हुने गरी समझदारीहरु हुने उनले जानकारी दिएका छन ।

उपमहासचिव ज्ञवालीले कांग्रेस–एमाले सम्मिलित संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको बताएका छन । शनिबार बसेको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिको बहावलाई विचार गर्दै दुबै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन सुझाव दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us