काठमाण्डु, २४ कात्तिक– आज शनिबार बसेको एमाले सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष निकालेको छ ।
आज एमाले मुख्यालय च्यासलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको सचिवालय बैठकले सरकारको ४ महिने कार्यकालको समीक्षा गरेको हो ।
बैठकमा कांग्रेससँगको गठबन्धनबिचको समझदारीलाई अझ प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।
उनले भने, ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ । सरकारले आधारभूत रूपमा ठिक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष छ ।
दुई राजनीतिक दलबिच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’