काठमाण्डु, २४ कात्तिक– जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई एमालेले सङ्गठित सदस्यबाट पनि निलम्बित गरेको छ ।
आज (शनिबार) बसेको एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको सङ्गठित सदस्यताबाट समेत निलम्बन जानकारी दिएका छन ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमणका लागि जापान गएका थिए । उनले आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।