रविलाई बेवास्ता गरिएको भन्दै पार्टी कार्यालय घेर्न पुगे रास्वपाका समर्थक

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन पार्टी मुख्यालयमै पुगेका छन ।

रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्, कि सङ्कटमा पार्टी सम्हाल कि ठाउँ छाड भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर बसीरहेका छन ।

उनीहरुले ‘रविको नाममा सांसद र नेता भएकाहरू रविलाई सङ्कट पर्दा पछि हट्नु धोखा हो, निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेताजस्तै बन, कि भन रवि दोषी हो कि लड उसका लागि, समयले आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिने ?’ भन्ने नारासहितको प्लेकार्ड बोकेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us