काठमाण्डु, २४ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन ।
आज शनिबार गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा काठमाण्डुमा आयोजित गणेशमान सिंह ११० औ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संशोधन गर्दै यस्तो बताएका हुन ।
राष्ट्रपति पौडेलले भने, ‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो, ‘लोकतन्त्रको यही आलोकलाई अङ्गीकार गर्दै हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन ।’
मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले थपे, ‘त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरिब र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ ।’
उनले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसङ्गति बेहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताएका छन ।