काठमाण्डु, २४ कात्तिक– सरकार नेतृत्वकर्ता एमाले सचिवालयको बैठक आज बस्दैछ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि सचिवालय बैठक बस्ने सो पार्टीले जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा समसामयिक राजनीति र १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन तयारी लगायत विषयमा छलफल हुने बताए ।
मानव तस्करीमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीबाट राजीनामा दिएका लिलाबल्लभ अधिकारीको विषय भने बैठकको एजेण्डामा राखिएको छैन । ‘प्रश्न उठेपछि उहाँले राजीनामा दिइसक्नुभएको छ । यो विषय अब धेरै चर्काउन जरुरी छैन’, गौतमले भने ।
टोकियोमा हुने एक सांस्कृतिक कार्यक्रमका लागि भन्दै जापन गएका अधिकारीदे मानव तस्करसँगको साँठगाँठमा तीन युवालाई सँगै लिएर गएका थिए । काजगात शंकास्पद लागेपछि टोकियो विमानस्थलस्थित अध्यागमन कार्यालयले मन्त्री अधिकारीसहित चारै जनालाई डिपोट गरिदिएको थियो ।
नेपाल आएपछि सँगै गएका तीन युवालाई प्रहरीले त्रिुभवन विमानस्थल अध्यागमन कार्यालयबाटै पक्राउ गरे पनि मन्त्रीको कार्ड देखाएपछि अधिकारीलाई छाडेको थियो ।
उक्त विषय बाहिर आएपछि केही दिनअघि अधिकारीले पदबाट राजीनामा दिएका छन् । तर, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएको आरोप लागे पनि प्रहरीले अधिकारीलाई छानबिनबाहिरै राखेपछि चर्को आलोचना भइरहेको छ ।