काठमाण्डु, २३ कात्तिक– मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ ।
ज्योति गुरुङ पूर्व मन्त्री एवं कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको नेपाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गरेर उनीहरुविरुद्ध नोटिस जारी गर्न नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो ।
मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) जाहेरी दिएका थिए ।
गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ ।