पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– पूर्वी क्षेत्रका प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जानकारी दिएको छ ।

त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए । तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले जानकारी दिएका छन ।

प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी खोसेपछि केही बेरपछि विवाद सामसुमजस्तो भयो । निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी थियो ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुंगको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us