पैसा बुझाएर मन्त्रीसँगै जापान गएका थिए तीन युवा

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते ९:१२ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– मानव तस्करीमा मुछिएपछि पदबाट राजीनामा दिएका कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका एमाले नेता लीलाबल्लभ अधिकारीसँग जापान गएका तीन युवाले १० देखि १३ लाख रुपैयाँ बुझाएको खुलासा भएको छ ।

मन्त्री अधिकारीसिँगै जापान गएका खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गाउँपालिका–४ का जनक राई र रसुवा कालिका गाउँपालिका– ५ का कञ्चन देवकोटाले उक्त रकम बुझाएका हुन् ।

१३ कात्तिकमा मन्त्रीसँगै जापान गएका उनीहरु त्यहाँको अध्यागमनले फिर्ता पठाएपछि १७ कात्तिकमा स्वदेश फर्किएका थिए । उनीहरु तत्काल भित्रुवन विमानस्थलबाट पक्राउ गरिएको छ ।

तर, अधिकारीलाई भने प्रहरीले कागज गराएर छाडेको खुलेको छ । पक्राउ परेकाहरुले बयानका क्रममा एमाले कार्यकर्ता धादिङ त्रिपुरा–सुन्दरी गाउँपालिका– ६ का महेश पाण्डेलाई जनही १० लाखदेखि १३ लाख रुपैयाँका दरले रकम बुझाएको बताएका छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले तीनै जनाले पैसा बुझाएको पुष्टि भएको बताए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उक्त रकम मन्त्री अधिकारीसम्म पनि पुगेको देखिएको छ ।

जापानको टोकियोमा आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने भन्दै अधिकारीले मन्त्रालयका नक्कली कर्मचारी बनाएर जापान लगेका थिए ।

संघीय र प्रदेश सरकारको अनुमतिबिना जापान गएका अधिकारी मानव तस्करीमा मुछिएपछि बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us