काठमाण्डु, २२ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको रास्वपा स्रोतले जानकारी दिएको छ ।
कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।
निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि बनाइएको छ ।
स्थानीय तहमा हुने उपनिर्वाचन हुने स्थानमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आजदेखि नाम दर्ता सुरु गरिएको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी गराए ।
उम्मेदवार हुन इच्छुकका लागि दर्ता अवधि दर्ता २५ कात्तिकसम्मका लागि तय गरिएको छ ।
२५ कात्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गरिने रास्वपाले जानकारी गराएको छ ।
प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय २६ कात्तिकका लागि तोकिएको छ ।
२७ कात्तिकमा उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ।