काठमाण्डु, २२ कात्तिक– डोटीको राजपुरस्थित सुजङ अस्पतालमा बायाँ हात भाँच्चिएर घाइते भएकी एक बालिकाको उपचारका क्रममा एक मृत्यु भएको छ ।
बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि बेहोस भएको पाईएको डोटी प्रहरीले जानकारी दिएको छ ।
बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माले जानकारी दिएका छन ।
स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै अस्पताल तोडफोडमा उत्रिए । अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा सम्लग्न चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको डोटी प्रहरीले जानकारी दिएको छ । आफन्तले भने चिकित्सकको लापबाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पतालबाट शब उठाउन मानेका छैनन् । मृत्तकका बाबा रोजगारको सिलसिलामा भारत बस्दै आएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. खगेन्द्र बमले घटनाको औपचारिक जानकारी नआएको जानकारी दिएका छन ।