काठमाण्डु, २२ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्र्वाचनमा सत्ता घटक दल एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार घोषणा गरेको छ ।
यसअघि एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् । आज भएको घोषणासभामा मेयरका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार काम गर्ने बताएका छन ।
घोषणासभामा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।
कांग्रेसबाट कीर्तिपुर नगरपालिकामा निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।